'जनतालाई विष खुवाउन पाइँदैन' भन्दै नेविसंघको प्रदर्शन
काठमाडौं – नेपाली विद्यार्थी संघले सरकारको विरोधमा प्रदर्शन गरेको छ । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा रहेको विषादी परीक्षणमा रोक लगाउने सरकारी निर्णयको विरोधमा नेविसंघले आज बिहान प्रदर्शन गरेको हो । ग्रामीण आदर्श क्याम्पस र एन आर क्याम्पसको संयुक्त आयोजनामा नेविसंघले प्रदर्शन गरेको हो । ‘जनतालाई विष खुवाउन पाइँदैन’ भन्दै नेविसंघ नेता सुशील भट्टको नेतृत्वमा विद्यार्थीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
‘जनताको स्वास्थ्यमाथि गम्भिर खेलवाड हुने गरी सरकारले निर्णय गरेको छ,’ नेविसंघका पूर्वकेन्द्रीय सदस्य भट्टले भने, ‘भारतबाट आयात हुने तरकारी तथा फलफूलमा अत्याधिक मात्रामा विषादी हुने गरेको प्रमाणित भइसकेको अवस्थामा सरकारले त्यसलाई विना परीक्षण भित्रिन दिने निर्णय जनविरोधी छ ।’ उनले सरकार जनताको स्वास्थ्यअवस्थाप्रति गम्भिर नरहेको दावी गरे । जनतालाई विष खाउ भनेर सरकारले नै भनिरहेको छ, यो सरकारको नालायकीपन हो,’ उनले थपे, ‘कसैको दवावमा परेर जनतालाई विषादीयुक्त तरकारी र फलफूल खाउ भन्नु सरकारको गैरजिम्मेवारीपनको पराकाष्ठा हो ।’
सरकारले भारतलगायत विभिन्न मुलुकबाट आयात हुने तरकारी तथा फलफूल परीक्षणपछि मात्र मुलुक भित्राउने निर्णय तत्काल कार्यान्वय नगर्न निर्देशन दिएको थियो । पूर्वाधारको अभाव भन्दै ६ महिनासम्म विना चेकजाँच फलफूल र तरकारी आयात गर्न दिने निर्णय गरेपछि अहिलेको यसको चर्काे विरोध भइरहेको छ । कतिपय भारतको दवावमा सरकारले निर्णय फिर्ता लिएको दावी गरेका छन् । प्रदर्शनलाई नेता भट्टसहित पवन थापा, सन्तोष गुरुङ, ठाकुर नेपाल ,लक्ष्मी सिलवाल, जीवन राना लगायतले सम्बोधन गरेका थिए ।