पृथ्वी राजमार्गमा बाढीले डाइभर्सन बगाएपछि सवारी आवागमनमा समस्या
पोखरा : पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने मुख्य प्रवेशद्वार विजयपुर खोलामा बनाइएको डाइभर्सन बाढीले बगाएको छ । बेलिब्रिज जीर्ण बनेपछि निर्माण गरिएको डाइभर्सन शनिवार राति आएको बाढीले बगाएपछि सवारी आवागमनमा समस्या भएको छ । माघमा बेलिब्रिज चर्किएपछि ठूला सवारी आवातजावत गर्न डाइभर्सन बनाइएको थियो । पुलबाट १० टनभन्दा माथिको मालवाहक सवारी आउजाउ गर्न रोक लगाइएको थियो । अहिले मालावाहक सवारीसाधनको आवागमन पूर्णरुपमा बन्द भएको छ ।
डाइभर्सन बगाएपछि अहिले सयौं सवारीहरु लामो लाइन लागेको छ । तनहुँको कोत्रेसम्म गाडीहरु रोकिएका छन् । अवरुद्ध बाटो खुलाउने काम भइरहेको सडक डिभिजन पोखराका प्रमुख हरिकुमार पोखरेलले बताए । ‘सामान्य बाढीले डाइभर्सन बगाएपछि अब फेरी डाइभर्सन नै बनाएर काम हुँदैन’ उनले भने, ‘बरु ठेकेदारलाई आग्रह गरेर बेलिब्रिजको कामलाई नै तीब्र गतिमा अगाडी बढाउँछौ।’ उनले मालबाहक सवारीलाई आवातजावत गर्न रातको समयमा एक पटकमा एउटा सवारी पास गराउन सकिने उनले बताए।
सडक विभागले बिजयपुर खोलामा स्थायी (ढलान) पुल निर्माणको लागि २०५९ सालमा टेण्डर आह्वान गरेको थियो । पुल निर्माण दुई बर्ष भित्र सक्नुपर्ने भएपनि २०६४ मा मात्र पुलको निर्माण कार्य सकिएको थियो । २०६४ मा सम्पन्न भएको पुल २०७५ को अन्त्यमा भाँचिएर काम नलाग्ने अवस्थामा पुगेको हो । मर्मतको क्रममा फागुन १२ मा पुल छियाछिया अवस्थामा भेटिएपछि कार्यालयले २६ गतेदेखि पुलमा १० टनभन्दा बढी भारवहन क्षमताका हेभी गाडीहरु निषेध गरेर डाइभर्सन बनाइएको थियो । अहिले पुल मर्मतको काम अगाडी बढ्न सकेको छैन । हलुका यात्रुबाहक सवारी साधन सोही पुल हुँदै आवागमन गरिरहेका छन् ।
पुल नबन्दा गण्डकी प्रदेशको राजधानी कास्की, बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङसम्मको यातायात प्रभावित हुने गरेको छ । पोखरा जाने विकल्पका रूपमा लेखनाथबाट सेती नदिको लामगादी, पटनेरी लगायतका स्थानमा रहेका पुलबाट हलुका सवारी साधन पठाउन सकिने भए पनि दोविल्लामा रहेको पुल समेत जीर्ण अवस्थामा पुगेका कारण ठूला गाडीहरु आवातजावतमा समस्या हुने गरेको छ । समयमै पुलको मर्मत र वैकल्पिक उपायबारे नसोचिने हो भने अबको केही दिनमा नै सवारी आवागमन प्रभावित बन्ने जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी निरीक्षक मुरारी मिश्रले बताए ।