इन्डोनेसियाको मिठाई कारखानामा भीषण आगलागी, ३ जनाको मृत्यु, ३६ बेपत्ता
इन्डोनेसियाको राजधानी जकार्ताको पश्चिममा रहेको मिठाई उत्पादन गर्ने कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन्।
शनिबार दिउँसो सेराङ जिल्लास्थित फोनुसा अगुङ मुलिया कारखानामा आगलागी भएको हो। घटनामा अन्य चार जना घाइते भएका छन्। उनीहरूलाई नजिकैका अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ।
स्थानीय उद्धार अधिकारीका अनुसार बेपत्ताहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ। आगलागीबाट कारखानाको ठूलो हिस्सा ध्वस्त भएको छ भने भवनको छानासमेत भत्किएको छ।
स्थानीय अग्नि नियन्त्रण अधिकारी टुबागुस मचफुज्दका अनुसार शनिबार अपराह्न ४ः३० बजे आगलागीको सूचना प्राप्त भएको थियो। दमकल घटनास्थल पुग्दा भवनको ठूलो भाग आगोको चपेटामा परिसकेको थियो।
बान्तेन प्रान्तका गभर्नर आन्द्रा सोनीले आगलागी हुँदा कारखानाभित्र करिब ६० जना रहेको अनुमान गरिएको बताएका छन्। आगलागीको कारणबारे अनुसन्धान भइरहेको स्थानीय विपद् व्यवस्थापन निकायले जनाएको छ।