दोलखामा कुखुरा फार्ममा आगलागी, १ हजार ७ सय कुखुरा जलेर नष्ट
दोलखाको वैतेश्वर गाउँपालिका–७ ठोट्नेरीस्थित एक कुखुरा फार्ममा आगलागी हुँदा १ हजार ७ सय कुखुरा जलेर नष्ट भएका छन्। आगलागीबाट करिब ६० देखि ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
स्थानीय विदुरप्रसाद गुरागाईँले सञ्चालन गरेको फार्ममा आइतबार मध्याह्न करिब १२ बजे विद्युत् सर्ट भएर आगलागी भएको हो।
आगलागीमा बिक्रीका लागि तयार १ हजार १ सय र हुर्कँदै गरेका ६ सय कुखुरा जलेर नष्ट भएका छन्। त्यस्तै, चारवटा फार्मका संरचना, ५० बोरा दाना, जेनेरेटरलगायत सामग्री पनि जलेर नष्ट भएको फार्म सञ्चालकले बताए।
स्थानीयवासी र इलाका प्रहरी कार्यालय मैनापोखरीबाट खटिएको प्रहरी टोलीको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।
बैंक तथा सहकारीबाट ऋण लिएर फार्म सञ्चालन गर्दै आएका गुरागाईँलाई आगलागीले ठूलो आर्थिक क्षति पुर्याएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।