प्रधानमन्त्री बालेन नयाँदिल्लीमा अवतरण, स्वागतका लागि राज्यमन्त्री विमानस्थलमा
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
नेपाल एयरलाइन्सको आरएनए २१७ विमानमार्फत केही बेरअघि दिल्ली पुगेका प्रधानमन्त्री शाहलाई भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ । उनको स्वागतमा उत्तराखण्डका कलाकारले लोकनृत्यसमेत प्रस्तुत गर्नेछन् ।
प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका सल्लाहकार तथा उच्चपदस्थ सरकारी अधिकारीहरू भ्रमणमा सहभागी छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल हुनेछ ।