विमानस्थलमा भन्सार र सशस्त्र प्रहरीको जाँच पार गरेका चिनियाँ नागरिक सुनसहित पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार र सशस्त्र प्रहरीको जाँच क्षेत्र पार गरिसकेका एक चिनियाँ नागरिक सुनसहित पक्राउ परेका छन् ।
नेपाल प्रहरीको टोलीले मंगलबार मध्यराति १ बजेर २५ मिनेटमा १ किलो ८०३.७७ ग्राम सुनसहित चीनको जिलिन प्रान्तका जियानह्वा वाङलाई पक्राउ गरेको हो ।
हङकङबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत काठमाडौं आएका वाङ विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको जाँच क्षेत्र पार गरिसकेपछि पक्राउ परेका थिए ।
प्रहरीले बरामद सुनसहित उनलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थलस्थित गौचर भन्सार कार्यालयमा बुझाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।