प्रतिजैविक प्रतिरोध नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य आवश्यक : मन्त्री मेहता
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिजैविक प्रतिरोध (एएमआर) को बढ्दो जोखिम नियन्त्रणका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि, खाद्य प्रणाली र वातावरण क्षेत्रबीच समन्वय आवश्यक रहेको बताएकी छन् ।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ का अवसरमा भिडियो सन्देश जारी गर्दै उनले प्रतिजैविक प्रतिरोध मानव स्वास्थ्यको मात्र नभई बहुक्षेत्रीय साझा चुनौती भएको बताएकी हुन् ।
मन्त्री मेहताका अनुसार प्रतिजैविक औषधिले प्रभावकारी रूपमा काम नगर्दा सामान्य सङ्क्रमणको उपचारसमेत कठिन बन्न सक्छ । नेपालमा टाइफाइड, क्षयरोग, मलेरिया, श्वासप्रश्वास तथा अस्पतालजन्य सङ्क्रमण गराउने सूक्ष्मजीवमा प्रतिरोध बढ्नु चिन्ताजनक रहेको उनले बताइन् ।
उनले चिकित्सकको सल्लाहबिना आफूखुसी प्रतिजैविक औषधि सेवन नगर्न र आवश्यकताअनुसार मात्र प्रयोग गर्न आग्रह गरेकी छन् । साथै सङ्क्रमणबाट बच्न खोप, सरसफाइ र हातको स्वच्छतामा ध्यान दिन पनि उनले अनुरोध गरिन् ।
हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म मनाइने यस सप्ताहको यस वर्षको नारा ‘एक स्वास्थ्य, एक अभियान : प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ रहेको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी सप्ताह मनाइँदैछ ।