मलेसिया स्वास्थ्य परीक्षण ठगी : पूर्वमन्त्रीद्वय थप दुई दिन हिरासतमा राख्न अनुमति
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहितका आरोपीलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले मंगलबार पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय कुँवर र यादवसहितका प्रतिवादीलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई अनुमति दिएको हो ।
मलेसिया जाने नेपाली कामदारसँग गैरकानुनी रूपमा बायो मेडिकल सर्भिस शुल्क असुलेको आरोपमा उक्त प्रकरणको अनुसन्धान भइरहेको छ । म्याक्रोटेक प्रालिले मेडिकल स्क्रिनिङका नाममा कामदारलाई अतिरिक्त स्वास्थ्य परीक्षण गर्न बाध्य पारेर रकम असुलेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
अनुसन्धानअनुसार उक्त प्रक्रियाबाट संकलित १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ मलेसिया पठाउन चार पटक मन्त्रीस्तरीय निर्णय भएको थियो । ती निर्णय तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरको कार्यकालमा भएका थिए । स्वास्थ्य परीक्षणका लागि काठमाडौंका ३६ वटा मेडिकललाई तोकिएको थियो ।
यस प्रकरणमा सुरुमा कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रवीन्द्र केसी, गोरखा घर भई टोखा नगरपालिका–११ बस्ने ४२ वर्षीय प्रवीण तिवारी र सर्लाही घर भई गोकर्णेश्वर नगरपालिका–६ बस्ने ४५ वर्षीय रामपुकार तिवारी पक्राउ परेका थिए ।
त्यसपछि मंसिर २ गते पूर्वमन्त्रीद्वय कुँवर र यादवसहित थप ६ जना पक्राउ परेका थिए । पक्राउ पर्ने अन्यमा यातायात विभागका महानिर्देशक राजीव पोखरेल, पूर्वसचिव विनोद केसी, तत्कालीन सहसचिव उमेश ढुङ्गाना र उपसचिव निर्मला गुरुङ रहेका छन् ।
सीआईबीले आरोपीहरूमाथि ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानअनुसार २०७५ सालको अन्त्यतिरदेखि आरोपीहरूले मलेसिया जाने कामदारसँग प्रतिव्यक्ति १०० मलेसियन रिङ्गिट असुल्दै आएका थिए । त्यसबेलाको विनिमय दरअनुसार उक्त रकम नेपाली ३ हजार १६० रुपैयाँ बराबर हुन्थ्यो ।
कामदारको स्वास्थ्य परीक्षणका नाममा भएको भनिएको यो असुली प्रकरणमा अर्बौं रुपैयाँको आर्थिक अनियमितता भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।