दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा लिन प्राधिकरणको आग्रह
नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूलाई विभिन्न शुल्क, दस्तुर तथा करमा लागेको जरिवाना र ब्याज मिनाहाको सुविधा उपयोग गर्न आग्रह गरेको छ।
प्राधिकरणका अनुसार आर्थिक ऐन, २०८३ को दफा ४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तभित्र बक्यौता शुल्क, दस्तुर वा कर र त्यसको एक प्रतिशत थप रकम दाखिला गरेमा लाग्ने जरिवाना, ब्याज तथा शुल्क मिनाहा हुनेछ।
शुल्क, दस्तुर वा कर दाखिला नगरेका, कम दाखिला गरेका वा आवश्यक विवरण नबुझाएका सेवा प्रदायकले यस्तो सुविधा पाउनेछन्।
त्यस्तै, सम्बन्धित कार्यालयबाट कर, शुल्क वा दस्तुर निर्धारण भई बक्यौता कायम भएका तथा अदालत वा न्यायिक निकायमा मुद्दा विचाराधीन रहेका सेवा प्रदायकले मुद्दा फिर्ता लिई निर्धारित रकम र त्यसको एक प्रतिशत थप रकम बुझाएमा पनि जरिवाना तथा ब्याज मिनाहा हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले अनुमतिपत्र प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकलाई मङ्सिर मसान्तभित्र आवश्यक रकम दाखिला गरी उक्त सुविधाको लाभ लिन अनुरोध गरेको छ।