तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
परराष्ट्रमन्त्री शिशिर खनालले सिन्धुपाल्चोकस्थित तातोपानी नाका यथाशीघ्र खुलाउन चिनियाँ पक्षसँग आग्रह गरेका छन्।
नेपाल भ्रमणमा रहेका चीनको ‘चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज’का अध्यक्ष याङ वानमिङसँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा मन्त्री खनालले यस्तो आग्रह गरेका हुन्।
गत भदौको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र अन्य उच्च हिमाली नाकाहरू चिसोका कारण पूर्ण रूपमा सञ्चालन हुन नसकेको अवस्थामा तातोपानी नाका तत्काल सञ्चालन गर्नुपर्ने उनले बताएका थिए।
काठमाडौँबाट सबैभन्दा कम दूरीमा रहेको तातोपानी नाका दुई मुलुकबीचको सम्पर्क र व्यापारका लागि महत्त्वपूर्ण रहेको मन्त्री खनालको भनाइ थियो।
जवाफमा अध्यक्ष याङले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने बताएका थिए।
भेटवार्तामा नेपाल–चीनबीचको व्यापार, पूर्वाधार, जलवायु परिवर्तन, जनस्तरको सम्बन्ध तथा शिक्षालगायतका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।