उपराष्ट्रपति यादव र चिनियाँ राजदूतबीच शिष्टाचार भेट, द्विपक्षीय सहयोगबारे छलफल
काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा नेपाल–चीन सम्बन्ध, आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व तथा दीर्घकालीन मित्रतामा आधारित सहकार्यबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।
उपराष्ट्रपति यादवले पछिल्ला चार दशकमा चीनले हासिल गरेको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै दुई देशबीच व्यापार, पर्यटन, पूर्वाधार, ऊर्जा र प्रविधि हस्तान्तरणमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, चिनियाँ राजदूत चाङ माओमिङले नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको बताए। उनले दुवै देशका जनताको समृद्धिका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
भेटलाई नेपाल–चीनबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।