औद्योगिक क्षेत्रमा २० हजारलाई रोजगारी, चिनियाँ लगानी सबैभन्दा बढी
काठमाडौं, जेठ १५ — मुलुकका विभिन्न क्षेत्रमा सञ्चालित १० औद्योगिक क्षेत्रमा रहेका उद्योगबाट करिब २० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्। आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणअनुसार करिब छ हजार १६ रोपनी क्षेत्रफलमा फैलिएका औद्योगिक क्षेत्रभित्र गत फागुन मसान्तसम्म दर्ता भएका ७०६ उद्योगमध्ये ६३८ उद्योग सञ्चालनमा रहेका छन्।
सर्वेक्षणअनुसार औद्योगिक क्षेत्रमा २६ उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् भने १६ उद्योग बन्द छन्। साथै २६ अन्य सङ्घसंस्था पनि ती क्षेत्रमा क्रियाशील छन्।
हाल सातै प्रदेशमा बालाजु, पाटन, भक्तपुर, हेटौँडा, धरान, नेपालगञ्ज, पोखरा, बुटवल, वीरेन्द्रनगर र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र सञ्चालनमा छन्। उद्योगलाई आवश्यक पर्ने आधारभूत पूर्वाधार—जग्गा, औद्योगिक भवन, सडक, विद्युत्, पानी, ढललगायत सुविधा एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले औद्योगिक क्षेत्र सञ्चालनमा ल्याइएको सरकारको भनाइ छ।
आर्थिक तथा व्यावसायिक वातावरण सुधार गर्दै उद्योग तथा लगानी सहजीकरण गर्न औद्योगिक व्यवसाय ऐन, २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, कम्पनी ऐन, २०६३ तथा विशेष आर्थिक क्षेत्र ऐन, २०७३ संशोधन गरी लगानीमैत्री बनाइएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।
त्यसैगरी नवीन ज्ञान, प्राविधिक सीप र क्षमता भएका उद्यमीलाई प्रोत्साहन गर्न ‘स्टार्टअप उद्यम नीति, २०८१’ तथा ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गरिएको छ। स्टार्टअप उद्यमको विकास र प्रवर्द्धनका लागि व्यवसाय सम्वर्द्धन केन्द्र स्थापना गरिएको जनाइएको छ।
स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा पाँच हजार १५८ प्रस्ताव प्राप्त भएकामा ६६१ प्रस्ताव सिफारिस भई ६०० उद्यमीलाई कर्जा प्रवाह गरिएको थियो। चालु आर्थिक वर्षको फागुनसम्म भने १० हजार २४४ प्रस्ताव प्राप्त भइसकेका छन्।
औद्योगिक बौद्धिक सम्पत्तितर्फ गत फागुन मसान्तसम्म ७० हजार ९७० ट्रेडमार्क, ९० पेटेन्ट तथा ३२० डिजाइन दर्ता भएका छन्।
यसैबीच, वैदेशिक लगानी स्वीकृति प्राप्त परियोजनामध्ये कुल लगानीका आधारमा चिनियाँ लगानी सबैभन्दा बढी रहेको छ। फागुन मसान्तसम्म चीनको ४८ प्रतिशत, भारतको १७.९ प्रतिशत तथा अन्य मुलुकको ३४.१ प्रतिशत लगानी रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।