मनसुन सुस्त, नेपाल भित्रिने मिति अनिश्चित; प्रि–मनसुन वर्षा भने बढ्दो
काठमाडौँ — दक्षिणी बंगालको खाडीमा औसत समयभन्दा छिट्टै प्रवेश गरेको मनसुनी वायु पछिल्ला दिनमा सुस्त देखिएको मौसमविद्हरूले बताएका छन्।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञानका सहप्राध्यापक विनोद पोखरेलका अनुसार मनसुनको गति सुस्त भएकाले यस वर्ष नेपालमा मनसुन प्रवेश गर्ने मिति अनिश्चित बनेको छ।
भारतीय अण्डमान–निकोबार टापु क्षेत्रमा मनसुन सरदर मिति (मे २२) भन्दा अघि नै मे १६ मा पुगेको थियो। त्यसपछि श्रीलंकाको मध्य भाग हुँदै बंगालको खाडीको मध्य भागसम्म मे २२ भित्रै विस्तार भए पनि पछिल्ला दिनमा गति सुस्त भएको देखिएको छ।
सामान्यतया नेपालमा जुन १३ आसपास मनसुन प्रवेश गर्ने अनुमान गरिन्छ। गत वर्ष भने मनसुन सरदरभन्दा करिब १५ दिन अगावै नेपाल प्रवेश गरेको थियो।
यस वर्ष मनसुन याममा कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण गरिएको छ भने प्रि–मनसुन अवधिमा भने अपेक्षाकृत बढी वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १२ सम्म करिब २८६.६० मिलिमिटर वर्षा भइसकेको छ, जुन औसत अनुमानभन्दा माथि हो।
त्यसैगरी पछिल्लो २४ घण्टामा गोरखा, लमजुङलगायतका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा पनि वर्षा भएको जनाइएको छ।
मौसमविद्हरूका अनुसार मनसुनी वायु अझै सक्रिय भए पनि पश्चिमी वायुको प्रभाव कायम रहेकाले पूर्ण रूपमा मनसुन नेपाल प्रवेश गर्न केही समय लाग्न सक्ने देखिएको छ।