संघीय संसद् सचिवालयद्वारा बजेट प्रस्तुतिको सम्पूर्ण तयारी पूरा
संघीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरिने संयुक्त बैठकको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।
शुक्रबार दिउँसो ४ बजे सिंहदरबारस्थित नयाँ तथा निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्नेछ। उक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ सरकारको तर्फबाट आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
हाल प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमै बजेट प्रस्तुति गरिनेछ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार नयाँ संसद् भवनको प्रतिनिधिसभा कक्षमा संयुक्त बैठक सञ्चालन गर्ने तयारी भए पनि ‘फिनिसिङ’ कार्य सम्पन्न नभएकाले बहुउद्देश्यीय हल प्रयोग गर्नुपरेको हो।
सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई बैठक सुरु हुनुअघि नै आफ्नो स्थान ग्रहण गर्न आग्रह गरेको छ। स्थान अभावका कारण यसपटकको बजेट प्रस्तुतिमा संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्च अधिकारी तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण नगरिएको पनि जनाइएको छ।