विगत २४ घण्टामा देशभर ४७ विपद् घटना, ३ जनाको मृत्यु र ७ घाइते
देशका विभिन्न स्थानमा विगत २४ घण्टामा भएका विपद्का घटनामा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिनअनुसार सो अवधिमा देशभर ४७ वटा विपद्का घटना दर्ता भएका छन्।
प्राधिकरणका अनुसार यी घटनाबाट करिब ३ करोड ९६ लाख ३० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। साथै ६ वटा चौपायाको क्षति भएको छ भने कुनै सडक अवरोध वा व्यक्ति बेपत्ता भएको विवरण नरहेको जनाइएको छ।
सबैभन्दा बढी घटना हावाहुरीका कारण भएका छन्। १५ जिल्लामा २२ वटा हावाहुरीका घटनामा १ जनाको मृत्यु भएको छ। त्यसैगरी ३ जिल्लामा ६ वटा सर्पदंशका घटनामा १ जनाको मृत्यु र ५ जना घाइते भएका छन्।
लेक लाग्ने घटनामा १ जनाको मृत्यु र २ जना घाइते भएका छन्। यस अवधिमा ९ जिल्लामा १२ वटा आगलागीका घटना भएका छन्, जसमा मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ।
त्यस्तै १–१ वटा वन डढेलो, चट्याङ, अविरल वर्षा र पहिरोका घटना पनि दर्ता भएका छन्।