बंगलादेशमा अत्यधिक गर्मी भएपछि ३ दिनको लागि सबै विद्यालय बन्द गरिएको छ।
एजेन्सी । बंगलादेशमा अत्यधिक गर्मी भएपछि ३ दिनको लागि सबै विद्यालय बन्द गरिएको छ।
सोही देशको अधिकांश भू-भागको अधिकतम तापक्रम १ सय ८ फरेनडाइट नाघेपछि अप्रिल २७ सम्मको लागि सबै विद्यालय बन्द गरिएको हो । गर्मीबाट ३ करोड ३३ लाख बालबालिका प्रभावित भएका बीबीसीले जनाएको छ। बंगलादेशले अत्यधिक गर्मीका कारण विद्यालय बन्द गरेको यो दोस्रो पटक हो।
बंगलादेशका मौसम विद्हरुले यस वर्ष तातोको चेतावनी दिएको यो चौथो पटक हो। जलवायु संकटको प्रभावबाट बंगलादेशको तल्लो तह जोखिममा परेको छ।जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी प्यानलका अनुसार समुद्री सतहमा ३० देखि ४५ सेन्टिमिटरको वृद्धिले तटीय जिल्लाका ३ करोड ५० लाख भन्दा बढी मानिसलाई विस्थापित गर्न सक्ने भएको छ। यस देशको कुल जनसंख्याको एक चौथाइ हो।
बुधबार मात्र हजारौं मुस्लिमले मस्जिदमा भेला भएर वर्षाको लागि प्रार्थना समेत गरेको समाचारमा उल्लेख गरिएको छ। बंगलादेशका मौसमविद्ले करिब अर्को हप्तासम्म गर्मी बढ्ने चेतावनी दिएका हुन्। गर्मीको कारण हुने स्वास्थ्य समस्याका बिरामी बढ्न सक्ने भन्दै त्यहाँको सरकारले अस्पताल र स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
केही दिन अघि फिलिपिन्स र भारतले अत्यधिक गर्मी भएपछि विद्यालय बन्द गरेका थिए। पछिल्लो समय एशियामा गर्मी बढ्दै गएको हो ।