ललितपुर ३ बाट कांग्रेसका जितजंग बस्नेतसहित ४ जना उम्मेदवार सिफारिस
ललितपुर क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेत प्रतिनिधि सभातर्फ प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन्।
ललितपुर क्षेत्र नम्बर ३ कांग्रेस क्षेत्रीय समिति र ललितपुर जिल्ला कार्यसमितिबाट जितजंग सहित चार जनाको सिफारिस गरिएको हो।
जितजंग नेपाल तरूण दलका पूर्वअध्यक्ष हुन्।
‘म ललितपुर क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने हो। मेरो नाम पार्टी क्षेत्र र जिल्लाले एक नम्बरमा सिफारिस गरिसकेको छ,’ बस्नेतले भने।यस्तै यही क्षेत्रबाट कांग्रेसका केन्द्रीय सदस्यहरू मदनबहादुर अमात्य, धना खतिवडा र प्रदेश सभा सांसद विजया श्रेष्ठ केसीको नाम पनि प्रतिनिधि सभातर्फ उम्मेदवारमा सिफारिस भएको छ।
कांग्रेसले विभिन्न क्षेत्रबाट उम्मेदवारका आकांक्षीका नाम संकलन गरी जिल्लामा सिफारिस गर्ने, जिल्लाबाट प्रदेशमा र प्रदेशबाट केन्द्रमा उम्मेदवारका नाम सिफारिस गर्ने कार्यलाई केही दिनदेखि अघि बढाइरहेको छ।
यसपालि कांग्रेसमा उम्मेदवारी आवेदन दिनेमा अधिकांश युवाहरू छन्।