एसईईको नतिजामा ‘नन ग्रेडेड’ लागू नहुने
राष्ट्रिय परीक्षा बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई)मा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नगर्ने निर्णय गरेको छ । निर्देशिका लागू गर्दा ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थी फेल हुने अवस्था थियो ।
विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउनेको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा गरिएको थियो । तर, कोभिड-१९ को दोस्रो लहरका कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाइ प्रणाली पनि प्रभावकारी नभएकाले निर्देशिका लागू गर्दा धेरै जना विद्यार्थी फेल हुने अवस्था देखिएपछि मंगलबार बसेको बोर्ड बैठकले ‘नन ग्रेडेड’ लागू नगर्ने निर्णय गरेको हो ।बोर्डले आज सार्वजनिक गर्ने तयारी गरिरहेको शैक्षिक सत्र २०७८ को एसईईको नतिजा अक्षरांकन (ग्रेडिङ) विधि अनुसार गर्ने जनाएको छ । जस अनुसार अब ‘ई’ ग्रेड पनि निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिने छ ।