त्रिभुवन विमानस्थलबाट २२ करोडको सेतो हेरोइन बरामद, भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ मूल्य बराबरको सेतो हेरोइन बरामद गरेको छ। थाइल्यान्डबाट काठमाडौं आएका एक भारतीय नागरिकको साथबाट प्रहरीले साढे ५ केजी सेतो हेरोइन बरामद गरेको हो।
लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार पक्राउ पर्नेमा भारतको महाराष्ट्र घर भएका ५२ वर्षीय रेवराज टिघारे रहेका छन्।
प्रहरीका अनुसार शनिबार बिहान शङ्का लागेर चेकजाँच गर्ने क्रममा उनको लगेजमा खरायो र बिरालोको खानाका प्याकेटभित्र लुकाएर ल्याइएको अवस्थामा सेतो हेरोइन फेला परेको थियो।
बरामद गरिएको साढे ५ केजी हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको आकलन गरिएको छ। अनुसन्धान अधिकृतहरूका अनुसार सेतो हेरोइन प्रतिग्राम ४० हजार रुपैयाँका दरले कारोबार हुने गरेको छ।
अनुसन्धानका क्रममा पक्राउ परेका टिघारे यसअघि पनि दुई पटक लाओसबाट काठमाडौं हुँदै भारत गएको ट्राभल हिस्ट्री भेटिएको प्रहरीले जनाएको छ। उनले जिम्बाब्वे, सुडान, बङ्गलादेश र कम्बोडियासमेत भ्रमण गरेको यात्रा विवरणमा देखिएको छ।
एसएसपी बोहराका अनुसार उनी अन्तर्राष्ट्रिय लागुऔषध कारोबारको सञ्जालमा संलग्न मुख्य व्यक्तिमध्ये एक रहेको अनुसन्धानबाट खुलेको छ। उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको प्रहरीले जनाएको छ।
सेतो हेरोइनको कारोबारमा संलग्नलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। पक्राउ परेका टिघारेमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको एसएसपी बोहराले जानकारी दिए।