साढे तीन किलो थाई गाँजासहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमानलाई शनिबार पक्राउ गरेको हो।
दिल्लीबाट नेपाल आएका उनको झोला जाँच गर्ने क्रममा प्लास्टिकको प्याकेटमा लुकाएर राखिएको तीन किलो पाँच सय ग्राम थाई गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट राहदानी र मोबाइल फोनसमेत बरामद गरेको छ। पक्राउ परेका सलमानमाथि लागूऔषध कारोबारसम्बन्धी थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।