कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार) पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बैठक सुरु हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा मंगलबारदेखि सुरु भएको बैठकमा आज विभिन्न समसामयिक तथा संगठनात्मक विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
मंगलबारको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक परिस्थिति र त्यसप्रति पार्टीको धारणा प्रस्तुत गरेका थिए । यस्तै, महामन्त्री प्रदीप पौडेलले बैठकमा प्रस्तावित कार्यसूची पेस गरेका थिए ।
महामन्त्री पौडेलले प्रस्तुत गरेको कार्यसूचीअनुसार आजको बैठकमा संगठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र स्थानीय निर्वाचनका विषयमा छलफल हुनेछ ।
संगठनको आगामी कार्यभारअन्तर्गत पार्टीले अघि सारेको ‘हामी तयार छौँ’ अभियानबारे पनि छलफल गर्ने तयारी छ । त्यस्तै, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछि प्रभावित समुदायको पुनःस्थापना तथा पुनःनिर्माणका विषय बैठकको प्राथमिकतामा रहनेछन् ।
यसैगरी, विस्थापित सुकुमवासीको व्यवस्थापनलगायत नागरिक सरोकारका मुद्दामा पार्टीको धारणा र आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।
बैठकमा सरकारका पछिल्ला गतिविधिको समीक्षा गर्दै आगामी स्थानीय निर्वाचनका सम्बन्धमा प्रारम्भिक छलफल गर्ने कार्यसूचीसमेत रहेको छ ।
केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावित कार्यसूचीका अतिरिक्त विविध समसामयिक विषयमा समेत छलफल हुने पार्टीले जनाएको छ ।