इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटाको प्रकरणमा उठेका आरोपबारे निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सामाजिक सञ्जालमार्फत हिरासतमा रहेका सापकोटाले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनले गम्भीर प्रश्न उठाएको बताएका छन् ।
उनले अनुसन्धानका क्रममा सापकोटाको मोबाइल अनधिकृत व्यक्तिले जफत गरी दुरुपयोग गरेको, तयार पारिएको कागज पढ्न दबाब दिएको र नमाने फसाइदिने धम्की दिएको भन्ने आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।
आङदेम्बेले पार्टी सभापति गगन थापालगायतका व्यक्तिलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार पारिएको भन्ने विषय पनि गम्भीर रहेको उल्लेख गरेका छन् ।
राजनीतिक प्रतिशोधका लागि राज्यशक्तिको दुरुपयोग हुन नहुने भन्दै उनले घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषी देखिएकालाई कानुनअनुसार कारबाही गर्न माग गरेका छन् । साथै, प्रधानमन्त्री बालेन्द्र शाहलाई अनुसन्धान निष्पक्ष भइरहेको छ कि छैन भन्ने प्रश्नसमेत गरेका छन् ।