यसै वर्ष निसेलढोरमा केन्द्रीय विद्युत् सेवा पुर्याउने ऊर्जामन्त्री श्रेष्ठको घोषणा
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन् ।
बागलुङको प्रसिद्ध पर्यटकीयस्थल ढोरपाटनमा केन्द्रीय विद्युत् सेवा पुगेपछि त्यसको करिब ११ किलोमिटर टाढा रहेको निसेलढोरमा पनि विद्युत् पुर्याउने लक्ष्य रहेको उनले बताए । निसेलढोरमा विद्युत् विस्तारसँगै गण्डकी प्रदेशमा शतप्रतिशत विद्युतीकरण हुने उनको भनाइ छ ।
बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ पहिरोको निरीक्षणपछि मन्त्री श्रेष्ठले विद्युत् विस्तारको काम अघि बढाउने जानकारी दिएका हुन् ।
यसैगरी, उनले दब्ल्याङ पहिरोको दिगो समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै पहिरो नियन्त्रणमा बायोइन्जिनियरिङ विधिसमेत अपनाउनुपर्ने बताए ।