इरानमा गुणस्तरहीन मदिरा सेवनबाट ३२ जनाको मृत्यु, ८६५ जना बिरामी
काठमाडौं । इरानका विभिन्न प्रदेशमा गुणस्तरहीन मदिरा सेवनका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ८६५ जना बिरामी परेका छन् ।
इरानी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ३१ देखि हालसम्म विषाक्त मदिरा सेवनका लक्षण देखिएपछि ७४६ पुरुष र ११९ महिलासहित ८६५ जना उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका छन् ।
मन्त्रालयका जनसम्पर्क प्रमुख होसेन केरमानपोरका अनुसार सबैभन्दा बढी दक्षिणी होर्मोजगान प्रदेशमा १० जनाको मृत्यु भएको छ । त्यस्तै, खोरासान रजावी प्रदेशको नेइशाबुरमा छ जना र फार्स प्रदेशको शिराजमा पाँच जनाको मृत्यु भएको छ ।
हाल १६० जना अस्पतालमा उपचाररत छन् भने २४ जनालाई सघन उपचार कक्षमा राखिएको छ । आठ जनामा मदिरा सेवनका कारण मस्तिष्कघातको सङ्केत देखिएको मन्त्रालयले जनाएको छ ।
इरानमा मादक पेय पदार्थको उत्पादन, बिक्री र सेवन कानुनतः प्रतिबन्धित छ ।