नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो पन्छाउने कार्यका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आइतबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने जनाएको हो ।
तुइनखोला क्षेत्रमा पहिरो पन्छाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटना तथा जोखिम न्यूनीकरणका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ । यस अवधिमा नारायणगढ–मुग्लिन सडकखण्डमा सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।
यद्यपि, काठमाडौँबाट मुग्लिन–आँबुखैरेनी हुँदै पोखरा जाने तथा सोही मार्गबाट आवतजावत गर्ने सवारीसाधनको सञ्चालन भने नियमित रहने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । प्रशासनले यात्रुलाई निर्धारित समयलाई ध्यानमा राखी आफ्नो यात्रा व्यवस्थापन गर्न आग्रह गरेको छ ।