वाग्मती सफाइ महाअभियानको ७०७औँ हप्तामा उत्तरवाहिनी क्षेत्रमा सरसफाइ
वाग्मती सफाइ महाअभियानको ७०७औँ हप्ताअन्तर्गत शनिबार गोकर्णेश्वर नगरपालिका–४ स्थित उत्तरवाहिनी क्षेत्रमा सरसफाइ गरिएको छ ।
‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नारासहित सञ्चालित अभियानमा वाग्मती नदीको मुहान क्षेत्र तथा गोकर्णेश्वर महादेव मन्दिर आसपास सरसफाइ गरिएको हो ।
नदीको मुहान क्षेत्र नै प्रदूषित हुन थालेपछि सरसफाइ अभियान सञ्चालन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो । अभियानमा जनप्रतिनिधि, स्थानीयवासी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
यसैबीच, अभियानकर्मी खगेन्द्र कार्कीको जन्मदिनको अवसरमा गोकर्ण ड्याम क्षेत्रमा माछाका भुरा छोडिनुका साथै गोकर्णेश्वर महादेव मन्दिर नजिक रुद्राक्षको बिरुवा रोपिएको छ ।
२०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियानले उपत्यकाका विभिन्न नदी, चक्रपथ क्षेत्र तथा सम्पदा स्थलमा नियमित सरसफाइ गर्दै आएको छ । अभियानबाट प्रेरित भएर हाल देशभर १११ भन्दा बढी स्थानमा सरसफाइ अभियान सञ्चालन भइरहेको जनाइएको छ ।