उपेन्द्र पौड्याललाई बैंकिङ क्षेत्रको लाइफटाइम एचिभमेन्ट अवार्ड
काठमाडौँ । नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास र आधुनिकीकरणमा विशिष्ट योगदान पुर्याएको भन्दै सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।
सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले पौड्याललाई सम्मान गरेका हुन्।
पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रको विकासमा योगदान पुर्याएका थिए।
सन् १९८० को दशकदेखि बैंकिङ क्षेत्रमा सक्रिय पौड्यालले परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
सम्मान ग्रहण गर्दै पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि सहकर्मी, नियामक निकाय, ग्राहक, सेयरधनी र परिवारको सामूहिक प्रयासको परिणाम भएको बताए।
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको उल्लेख गर्दै वित्तीय स्थिरता कायम राख्न नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। उनले बैंकहरूलाई कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र वित्तीय उत्पादन विविधीकरण गर्न आग्रह गरे।
यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। यसअघि उपाध्यक्ष रहेका रेग्मीले निवर्तमान अध्यक्ष सन्तोष कोइरालाको स्थान लिएका हुन्।
त्यस्तै, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल सङ्घको उपाध्यक्षमा निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास सुदृढ बनाउँदै कृषि, साना तथा मझौला उद्यम, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।