रूसद्वारा एकै रातमा १ हजार २४६ युक्रेनी ड्रोन खसालेको दाबी
रूसले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म आफ्नो भूभागमा आक्रमण गर्न आएका एक हजार २४६ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ।
रूसी रक्षा मन्त्रालयका अनुसार मस्कोसहित एक दर्जनभन्दा बढी क्षेत्रमा हवाई रक्षा प्रणालीमार्फत ती ड्रोन नष्ट गरिएको हो।
मस्कोका मेयर सेर्गेई सोब्यानिनले राजधानी मस्को क्षेत्रतर्फ ४६० भन्दा बढी ड्रोन आएको र तीमध्ये १२३ वटा नष्ट गरिएको बताएका छन्।
रूसले भोल्गोग्राड र क्रास्नोदारसहित विभिन्न क्षेत्रमा पनि ड्रोन आक्रमणको प्रयास भएको जनाएको छ।
यता युक्रेनले पनि पछिल्लो २४ घण्टामा रूसले व्यापक ड्रोन आक्रमण गरेको जनाएको छ। जापोरिज्झिया क्षेत्रमा ७०० भन्दा बढी रूसी ड्रोन प्रहार भएको र आक्रमणमा एक जनाको मृत्यु तथा पाँच जना घाइते भएको त्यहाँका सैन्य प्रशासन प्रमुख इभान फेदोरोभले बताएका छन्।
रूस र युक्रेनबीच युद्धको पाँचौँ वार्षिकोत्सव नजिकिँदै गर्दा हवाई आक्रमण तीव्र बन्दै गएको छ। युद्ध अन्त्यका लागि अमेरिकाले गरिरहेको मध्यस्थता प्रयाससमेत बन्दी आदानप्रदानबाहेक अन्य विषयमा ठोस सहमतिमा पुग्न सकेको छैन।