पोखरामा स्कुल बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १४ घाइते
कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भीरमा कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग.२ ख. १४१७ नम्बरको बस शुक्रबार बिहान सडकबाट करिब २०० मिटर तल खसेको हो।
दुर्घटनामा घाइते भएका १९ जनालाई उद्धार गरी अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा चार बालबालिका र ६५ वर्षीय बाबुराम तिवारीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक विद्यार्थीमध्ये ममता तिवारी र अशिम कँडेलको पहिचान खुलेको छ।
घाइतेमध्ये तीन जनाको गण्डकी मेडिकल कलेज र ११ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ। एक विद्यार्थीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बस चालक, विद्यार्थी र उद्धारमा खटिएका एक प्रहरी जवानसमेत घाइते भएका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।