महिलामाथि गोली प्रहार गरी फरार भारतीय नागरिक नवलपरासीबाट पक्राउ
महिलामाथि गोली प्रहार गरी हत्या प्रयास गरेर फरार रहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २६ वर्षीय सितारे आलम अन्सारी रहेका छन्।
प्रहरीका अनुसार अन्सारीले २०८२ वैशाख ६ गते पाल्पाको रैनादेवी गाउँपालिका–३, बम्घा घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, बुद्धनगरमा नास्ता पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया विपना भन्ने टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार गरेका थिए।
घटनापछि भारततर्फ फरार भएका अन्सारी लुकिछिपी बस्दै आएका थिए। उनी नेपाल प्रवेश गरी नवलपरासीमा रहेको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो।
२०८३ कात्तिक १ गते दिउँसो करिब ३ बजे नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३, विलासपुरबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले अन्सारीको साथबाट यूपी ५६ एएच ०५१६ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गरेको छ। पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।