तीन वर्षभन्दा कम समयमा ६० लाखभन्दा बढी अफगानी स्वदेश फर्किए
काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर)ले तीन वर्षभन्दा कम अवधिमा ६० लाखभन्दा बढी अफगानी नागरिक स्वदेश फर्किएको जनाएको छ ।
युएनएचसीआरका अनुसार घर फर्किएका अफगानीको यो सङ्ख्या हालसम्मकै असाधारण हो । स्वदेश फिर्ती सामान्य प्रक्रिया भए पनि यो स्वैच्छिक, सुरक्षित र सम्मानजनक हुनुपर्नेमा युएनएचसीआरले जोड दिएको छ ।
स्वदेश फर्किने अधिकांश अफगानी छिमेकी मुलुक इरान र पाकिस्तानबाट आएका छन् । अफगान अधिकारीहरूले फर्किएका नागरिकका लागि आश्रय, खाना, गैरखाद्य राहत सामग्री तथा बसोबासको व्यवस्था गर्न सहयोग गरिरहेको जनाएका छन् ।
तर स्वदेश फर्किएका नागरिकले रोजगारीको तीव्र अभाव, उच्च गरिबी र दैनिक आर्थिक कठिनाइको सामना गरिरहेको युएनएचसीआरले जनाएको छ । उनीहरूले पुनःएकीकरण प्रक्रिया सहज बनाउन तथा जीवनस्तर सुधारका लागि थप अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन् ।
युएनएचसीआरले स्वदेश फर्किएका नागरिकको दीर्घकालीन पुनःस्थापना र पुनःएकीकरणका लागि आवश्यक सहयोग तथा स्रोत सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।