रसुवा बाढीपीडितका लागि नाइमाद्वारा ५० लाख सहयोग
रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ५० लाख रुपैयाँ सहयोग गरेको छ।
नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेको हो।
रकम हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा, सिमेक्स इन्क (बीवाईडी) का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा नाइमाको डिजिटल एजेन्सी ‘डिजिटल’ का तर्फबाट उत्सव कार्कीको सहभागिता थियो।
सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष वैद्यले रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल उद्देश्य विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताइन्। नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरू एवं नाइमाका सदस्य कम्पनीहरूको तर्फबाट उक्त सहयोग गरिएको उनले जानकारी दिइन्।
विपद् तथा संकटका समयमा नाइमा सरकार र प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता व्यक्त गर्दै वैद्यले भनिन्, ‘यो केवल आर्थिक सहयोग मात्र होइन। कठिन समयमा हामी प्रभावित समुदायसँगै छौँ भन्ने ऐक्यबद्धताको सन्देश पनि हो।’
सहयोग ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नाइमाको सहयोगको प्रशंसा गरे। विपद्को संवेदनशील र कठिन परिस्थितिमा प्राप्त सहयोग अत्यन्त मूल्यवान् रहेको उनले बताए।