रसुवा बाढीपीडितका लागि वर्ल्डलिंकद्वारा १ करोड १ लाख सहयोग
रसुवामा बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेका हुन्।
कम्पनीका अनुसार बाढी तथा पहिरोका कारण आफ्नै नेटवर्क र पूर्वाधारमा करिब ३ करोड ५० लाख रुपैयाँ बराबरको क्षति पुगेको थियो। तर प्रभावित नागरिकलाई लामो समय सञ्चार सेवाबाट वञ्चित हुन नदिन कम्पनीले नेटवर्क पुनर्निर्माणलाई प्राथमिकता दिएको जनाएको छ।
वर्ल्डलिंकले बाढी आएको तीन दिनभित्रै प्रभावित नेटवर्कको मर्मत तथा पुनर्निर्माण गरी सेवा सञ्चालनमा ल्याएको दाबी गरेको छ। सडक, विद्युत्लगायतका पूर्वाधारमा क्षति पुगेको प्रतिकूल अवस्थामा समेत कम्पनीका प्राविधिक तथा सम्बन्धित टोली प्रभावित क्षेत्रमा खटिएका थिए।
कम्पनीले विपद्को समयमा इन्टरनेट सेवा सूचना तथा सञ्चारको माध्यम मात्र नभई उद्धार, राहत तथा आपत्कालीन समन्वयका लागि समेत महत्वपूर्ण हुने जनाएको छ। त्यसैले सेवा निरन्तर राख्नुलाई सामाजिक उत्तरदायित्वकै हिस्सा मानेर काम गरिएको वर्ल्डलिंकको भनाइ छ।
आफ्नै पूर्वाधारमा ठूलो क्षति भए पनि पछिल्लो सहयोग व्यावसायिक स्वार्थभन्दा बाहिर रहेर मानवीय तथा राष्ट्रिय दायित्वका रूपमा प्रदान गरिएको कम्पनीले जनाएको छ।
वर्ल्डलिंकले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धतासमेत जनाएको छ।