इमरान खानलाई ४८ घण्टाभित्र अस्पताल लैजान पाकिस्तानको सर्वोच्च अदालतको आदेश
इस्लामाबाद । पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि ४८ घण्टाभित्र अस्पताल स्थानान्तरण गर्न आदेश दिएको छ।
मंगलबार भएको सुनुवाइका क्रममा अदालतले इमरानलाई इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पतालमा लैजान निर्देशन दिएको हो। अदालतको आदेशअनुसार उनी सेप्टेम्बर १६ सम्म अस्पतालमा रहनेछन्।
इमरानको स्वास्थ्य अवस्थाबारे परिवार र पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएका थिए। विशेषगरी उनको दाहिने आँखाको दृष्टि कमजोर हुँदै गएको र अन्य स्वास्थ्य समस्यासमेत देखिएको भन्दै परिवार तथा कानुनी टोलीले अस्पतालमा उपचारको माग गर्दै आएका थिए।
सर्वोच्च अदालतले इमरानको स्वास्थ्य परीक्षणका लागि विशेषज्ञ चिकित्सक सम्मिलित मेडिकल बोर्ड गठन गर्नसमेत आदेश दिएको छ। उक्त बोर्डमा उनका निजी चिकित्सक र बहिनी डा. उज्मा खानलाई समेत सहभागी गराउने व्यवस्था गरिएको छ।
अदालतले इमरानलाई परिवारका सदस्यसँग नियमित भेटघाट तथा उनका छोराहरूसँग टेलिफोनमा कुराकानी गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। साथै, परिवार र कानुनी टोलीलाई उनको मेडिकल रिपोर्ट सञ्चारमाध्यममा सार्वजनिक नगर्न तथा स्वास्थ्य विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ।
७३ वर्षीय इमरान खान सन् २०२३ अगस्टदेखि जेलमा छन्। उनलाई विभिन्न मुद्दामा दोषी ठहर गरिएको छ। इमरान र उनको पार्टीले भने आफूविरुद्धका मुद्दा राजनीतिक प्रतिशोधका आधारमा चलाइएको दाबी गर्दै आएका छन्। पाकिस्तानी सरकारले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ।
सर्वोच्च अदालतको पछिल्लो आदेशलाई इमरानको पार्टी पीटीआईले स्वागत गरेको छ। पार्टीले उनको स्वास्थ्य अवस्था थप बिग्रनुअघि नै अस्पतालमा उपचारको व्यवस्था हुनुपर्ने माग गर्दै आएको थियो।