फिलिपिन्सको निजी विद्यालयमा गोलीकाण्ड, विद्यार्थीसहित दुई जनाको मृत्यु
मनिला । दक्षिणी फिलिपिन्सको जाम्बोआङ्गा सहरस्थित एटिनो डे जाम्बोआङ्गा विश्वविद्यालयअन्तर्गतको निजी विद्यालयमा मंगलबार भएको गोलीकाण्डमा एक विद्यार्थी र बन्दुकधारीको मृत्यु भएको छ।
प्रहरीका अनुसार कक्षा ९ का एक विद्यार्थीले विद्यालय परिसरमा पिस्तोल र राइफल ल्याई कक्षाकोठाभित्र गोली चलाएका थिए। उनले सुरुमा एक शिक्षकलाई लक्षित गरी गोली प्रहार गरे पनि गोली नलागेको र त्यसपछि अर्को कक्षामा प्रवेश गरी कक्षा १० का एक विद्यार्थीलाई गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्यसपछि उनले आफूमाथि नै गोली प्रहार गरी आत्महत्या गरेका थिए।
घटनामा दुई जनाको मृत्यु भएको विद्यालय प्रशासनले पुष्टि गरेको छ भने अन्य केही विद्यार्थी घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। गोलीकाण्डपछि विद्यालय परिसरबाट सयौं विद्यार्थीलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो।
स्थानीय सञ्चारमाध्यममा सार्वजनिक भिडियोमा बन्दुकधारीले शरीरमा जडित क्यामेरामार्फत घटनाको प्रत्यक्ष प्रसारण गरेको देखिएको छ। भिडियोमा उनी विद्यालयको गल्ली हुँदै कक्षातर्फ अघि बढ्दै गोली चलाइरहेको र विद्यार्थीहरू चिच्याउँदै सुरक्षित स्थानतर्फ भागिरहेको दृश्य देखिन्छ। घटनापछि उनको सामाजिक सञ्जाल खाता निष्क्रिय गरिएको छ।
जाम्बोआङ्गा सहरका मेयर खैमर ओलासोले घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रहरीले बन्दुकधारीले प्रयोग गरेका हतियारको स्रोत तथा घटनाको उद्देश्यबारे अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार प्रयोग भएका हतियार बन्दुकधारीका पिताको नाममा दर्ता भएका थिए।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले घटनाप्रति दुःख व्यक्त गर्दै विद्यालयहरूलाई अझ सुरक्षित बनाउन आवश्यक कदम चाल्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। फिलिपिन्समा विद्यालयमा गोलीकाण्डका घटना तुलनात्मक रूपमा दुर्लभ मानिए पनि पछिल्ला दुई महिनामा भएको यो दोस्रो घातक विद्यालय आक्रमण हो।