रुसी हवाई आक्रमणमा युक्रेनमा एक बालकसहित तीन जनाको मृत्यु
युक्रेनको राजधानी किएभनजिकै रुसले गरेको आक्रमणमा एक बालकसहित कम्तीमा तीन जनाको मृत्यु भएको छ । एक स्थानीय अधिकारीले आक्रमणबारे जानकारी दिएका हुन् ।
शनिबार बिहानै मिसाइलहरूले राजधानी किएभको पूर्वी क्षेत्रलाई निसाना बनाएका थिए । प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज सुनेको बताएका छन् । केही दिनअघि मात्रै युक्रेनका विभिन्न क्षेत्रमा भएका रुसी आक्रमणमा २१ जनाको मृत्यु भएको थियो ।
युक्रेनको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर टेकाचेन्कोले ब्यालिस्टिक मिसाइल आक्रमणमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको बताए । उनका अनुसार मिसाइलका भग्नावशेषले अपार्टमेन्ट भवन तथा कारहरूमा क्षति पुगेकाे छ । भग्नावशेषका कारण अर्को एउटा भवनमा समेत आगलागी भएको छ ।
किएभका मेयर भिताली क्लिच्कोले टेलिग्राममार्फत आपत्कालीन उद्धार टोली एउटा भवन र इन्धन ट्याङ्कीमा लागेको आगो निभाउन खटिएकाे जानकारी दिएका छन् ।
युक्रेनको सरकारी आपत्कालीन सेवा डीएसएनएसले किएभमा ग्यारेज, एउटा व्यावसायिक प्रतिष्ठान र एक भवनमा आगलागी भएको तस्वीर सार्वजनिक गरेको छ । आपत्कालीन सेवाले भनेको छ, ‘पीडितहरूको संख्या यकिन गर्ने काम भइरहेको छ ।’