भुटानका गृहमन्त्रीसहित दुई मन्त्रीले दिए राजीनामा
भुटानका गृहमन्त्री ल्योन्पो छिरिङ र ऊर्जामन्त्री जेम छिरिङले राजीनामा दिएका छन्।
गृहमन्त्री ल्योन्पोले नैतिक जिम्मेवारीका आधारमा पदबाट राजीनामा दिएको बताएका छन्। उनीमाथि एक युवतीले यौन दुराचार, छली, धम्की तथा मनोवैज्ञानिक हानि पुर्याएको आरोप लगाएपछि भुटानमा तीव्र आक्रोश उत्पन्न भएको थियो।
ती युवतीले सामाजिक सञ्जालमार्फत घटनासँग सम्बन्धित तस्बिरसमेत सार्वजनिक गरेकी थिइन्। आरोपपछि बढेको जनआक्रोश र यसले राष्ट्रको गरिमामा असर पुगेको भन्दै ल्योन्पोले राजीनामा दिएको भुटानी सञ्चारमाध्यमले जनाएका छन्।
ऊर्जामन्त्री जेम छिरिङले भने राजीनामा दिनुको कारण तत्काल सार्वजनिक गरेका छैनन्।