टीएमसीका वरिष्ठ नेता आशीष बनर्जी पार्टी कार्यालयमा मृत फेला
कोलकाता । पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का वरिष्ठ नेता आशीष बनर्जी आइतबार बीरभूम जिल्लास्थित पार्टी कार्यालयमा मृत फेला परेका छन्। उनको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
रामपुरहाटको वडा नम्बर–५ अन्तर्गत हत्तलापारा क्षेत्रमा बस्दै आएका बनर्जीको घरनजिकै टीएमसीको पार्टी कार्यालय रहेको थियो। प्रहरीले घटनास्थलबाट एउटा कथित सुसाइड नोटसमेत बरामद गरेको जनाएको छ।
उक्त नोटमा आफूले भ्रष्टाचार नगरेको र आफूलाई बदनाम गर्ने प्रयास गरिएको उल्लेख रहेको बताइएको छ। बालुवा ठेक्का तथा तारापीठ–रामपुरहाट डेभलपमेन्ट अथोरिटी (टीआरडीए) सम्बन्धी ठेक्का, योजना स्वीकृति, एनओसी तथा चेकसँग जोडिएका विषयमा आफ्नो कुनै भूमिका नरहेको उनले दाबी गरेको बताइएको छ।
नोटमा आफ्नो मृत्युका लागि कोही जिम्मेवार नरहेको उल्लेख हुनुका साथै राजनीतिमा प्रवेश गरेकोमा पछुतो व्यक्त गरिएको पनि बताइएको छ। यद्यपि, घटनाको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रहरीले बनर्जीको शव पोस्टमार्टमका लागि पठाएको छ। पोस्टमार्टम रिपोर्ट र अनुसन्धानबाट मृत्युको कारणबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।
पश्चिम बंगाल सरकारकी मन्त्री तथा भाजपा नेतृ अग्निमित्रा पालले घटना आत्महत्या हो वा अन्य कारणले भएको हो भन्ने विषय अनुसन्धानबाट स्पष्ट हुने बताएकी छन्। उनले टीएमसीभित्र केही असल मानिसले आफ्नो कुरा राख्न नसकेको दाबीसमेत गरिन्।
टीएमसी सांसद अभिषेक बनर्जीले भने आशीष बनर्जीले जीवनभर शिक्षक तथा जनसेवकका रूपमा इमानदारी र सरलताका साथ काम गरेको बताएका छन्। उनले बनर्जीको अन्तिम नोटमा लामो समयदेखि चलिरहेको भनिएको बदनाम अभियानबारे गम्भीर प्रश्न उठाइएको उल्लेख गरेका छन्।
आशीष बनर्जीले स्वतन्त्रता दिवसका अवसरमा शनिबार आफ्नो घरनजिकै भारतीय राष्ट्रिय झण्डा फहराएका थिए। उनले कार्यक्रमका केही तस्बिर सामाजिक सञ्जालमा समेत सार्वजनिक गरेका थिए।
उनका भाइ प्रशान्त बनर्जीका अनुसार घटनाको अघिल्लो रातसम्म उनको व्यवहार सामान्य रहेको थियो। पार्टी कार्यालयको ढोकामा रहेको खाली ठाउँबाट डोरी झुन्डिएको देखेपछि परिवारले शंका गरी प्रहरीलाई खबर गरेको उनले बताएका छन्।
आशीष बनर्जी टीएमसी अध्यक्ष तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीका निकट वरिष्ठ नेताका रूपमा चिनिन्थे। उनी विद्यालय शिक्षा तथा कृषि मन्त्रीसमेत बनेका थिए।
रामपुरहाट विधानसभा क्षेत्रबाट सन् २००१, २००६, २०११, २०१६ र २०२१ मा लगातार पाँच पटक विधायक निर्वाचित भएका बनर्जी ममता बनर्जी नेतृत्वको अघिल्लो सरकारमा विधानसभा उपसभामुखसमेत बनेका थिए।
सन् २०२६ को विधानसभा निर्वाचनमा भने उनी भाजपा उम्मेदवार ध्रुबा साहासँग पराजित भएका थिए।
बनर्जीले जुन २ मा टीएमसीको बीरभूम जिल्ला अध्यक्ष तथा जिल्ला कोर कमिटी अध्यक्ष पदबाट राजीनामा दिएका थिए। त्यसपछि आफू पार्टीको सामान्य सदस्यका रूपमा रहने बताएका थिए।
घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ। पोस्टमार्टम रिपोर्ट तथा अन्य अनुसन्धानबाट मृत्युको वास्तविक कारणबारे थप स्पष्टता आउने बताइएको छ।