नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
काठमाडौं: नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले आयोजना गरेको ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्ड्स २०२६’ मा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका हुन्।
बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगका कारण यो सम्मान प्राप्त भएको जनाएको छ। बैंकका अनुसार उक्त अवार्डले बैंकिङ सेवा र नवप्रवर्तनलाई अझ प्रभावकारी र सुदृढ बनाउन प्रेरणा मिल्ने विश्वास गरिएको छ।
बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुन पाउँदा खुसी लागेको बताए। उनले बैंकलाई निरन्तर साथ, सहयोग र हौसला प्रदान गर्ने ग्राहक, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।
यस वर्षको अवार्डमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड र बङ्गलादेशका बैंकहरूको सहभागिता रहेको थियो।
इन्डियन चेम्बर अफ कमर्स भारतको उद्योग तथा वाणिज्य क्षेत्रको अग्रणी संस्था हो। यस संस्थाले भारतभित्र तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापार र उद्योगको प्रवर्द्धन गर्दै विभिन्न क्षेत्रमा उत्कृष्ट संस्थाहरूलाई सम्मान गर्दै आएको छ।
यसअघि पनि नबिल बैंकले युरोमनी अवार्ड्स फर एक्सेलेन्स अन्तर्गत ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमई’ उपाधि प्राप्त गरेको थियो। बैंकको सुदृढ वित्तीय अवस्था, ग्राहककेन्द्रित सेवा, डिजिटल बैंकिङमा नेतृत्व तथा समग्र बैंकिङ उत्कृष्टताका आधारमा ती सम्मान प्रदान गरिएको थियो।