आइएसएसबाट फर्किएको अमेरिकी–रूसी टोली कजाकिस्तानमा सुरक्षित अवतरण
कजाकिस्तान — अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आठ महिना बिताएको अमेरिकी–रूसी संयुक्त अन्तरिक्ष टोली आइतबार कजाकिस्तानमा सुरक्षित अवतरण गरेको छ।
नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रुसी अन्तरिक्ष यात्री सर्गेई कुड–स्वेर्चकोभ र सर्गेई मिकेभ सवार सोयुज एमएस–२८ यान प्यारासुटमार्फत जेजकाजगनको दक्षिणपूर्वी क्षेत्रमा अवतरण भएको हो।
तीन सदस्यीय टोलीले आइएसएसमा २४१ दिन वैज्ञानिक तथा प्राविधिक अनुसन्धान अभियान पूरा गरेको थियो। यो विलियम्स र मिकेभका लागि पहिलो अन्तरिक्ष यात्रा थियो भने कुड–स्वेर्चकोभका लागि दोस्रो अन्तरिक्ष मिसन बनेको छ।
अवतरणपछि टोलीलाई हेलिकप्टरमार्फत कारागान्डा लगिनेछ। त्यहाँबाट विलियम्स अमेरिकाको ह्युस्टनस्थित जोन्सन स्पेस सेन्टर फर्कनेछन् भने रुसी अन्तरिक्ष यात्रीहरू मस्को नजिकैको स्टार सिटीस्थित प्रशिक्षण केन्द्र जानेछन्।
युक्रेन युद्धपछि अमेरिका र रुसबीच राजनीतिक सम्बन्ध तनावपूर्ण भए पनि अन्तरिक्ष क्षेत्रमा भने सहकार्य जारी रहेको छ। दुवै देशका अन्तरिक्ष यात्रीहरूले लामो समयदेखि आइएसएसमा संयुक्त रूपमा अभियान सञ्चालन गर्दै आएका छन्।
यसैबीच, जुलाई १४ मा नासाका अनिल मेनन तथा रोस्कोसमोसका प्योत्र डुब्रोभ र अन्ना किकिना नयाँ टोलीका रूपमा आइएसएस पुगेका छन्। उनीहरूले अब आठ महिनाको अन्तरिक्ष अभियान सुरु गरेका छन्।