भारतमा ‘कक्रोच’ आन्दोलनको माग– पक्राउ परेका प्रदर्शनकारी रिहा गर
नयाँदिल्ली — भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि देशभर प्रदर्शनका क्रममा पक्राउ परेका सबै प्रदर्शनकारीलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।
प्रश्नपत्र चुहावट तथा परीक्षा प्रणालीमा देखिएका अनियमितताविरुद्ध आन्दोलनरत ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले असाम, पश्चिम बङ्गाल, बिहारलगायतका राज्यमा विद्यार्थीहरू हिरासतमा रहेको जनाएको छ। समूहले पक्राउ परेकालाई रिहा नगरे वा उनीहरूमाथिका मुद्दा फिर्ता नलिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।
सीजेपीले प्रदर्शनकारीमाथि दण्डात्मक कारबाही नगर्ने सरकारी प्रतिबद्धता कार्यान्वयन नभएको आरोप लगाएको छ।
यसैबीच, संसद्मा पनि उक्त विषयले प्रवेश पाएको छ। विपक्षी सांसदहरूले प्रदर्शनकारीमाथिको प्रहरी कारबाहीबारे सरकारसँग जवाफ माग्दै सदन अवरुद्ध गरेका छन्। सरकारले भने प्रश्नपत्र चुहावटमा संलग्नलाई कडा सजायको व्यवस्था गर्ने विधेयक संसद्मा प्रस्तुत गरेको छ।