स्पेनकी भावी महारानी लियोनोरले पूरा गरिन् तीन वर्षे सैन्य प्रशिक्षण
स्पेनकी युवराज्ञी तथा सिंहासन उत्तराधिकारी लियोनोरले तीन वर्ष लामो कठिन सैन्य प्रशिक्षण पूरा गरेकी छन्। भावी महारानीका रूपमा तयार भइरहेकी लियोनोरले सेना, नौसेना र वायु तथा अन्तरिक्ष सेनाका तीनवटै शाखामा प्रशिक्षण पूरा गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेकी हुन्।
उनको सैन्य यात्रा जारागोजास्थित जनरल मिलिटरी एकेडेमीबाट सुरु भएको थियो। त्यहाँ उनले अन्य क्याडेटसरह अनुशासन, युद्धकौशल, हतियार सञ्चालन, नेभिगेसन र कठिन परिस्थितिमा नेतृत्व गर्ने सीप सिकिन्।
त्यसपछि उनले स्पेनी नौसेनाको प्रशिक्षण जहाज जुआन सेबास्टियन दे एल्कानोमा रहेर समुद्री प्रशिक्षण लिइन् र एटलान्टिक महासागर यात्रासमेत गरिन्। अन्तिम चरणमा जनरल एयर एन्ड स्पेस एकेडेमीमा उनले सैन्य विमान उडान र प्यारासुट जम्पको प्रशिक्षण पूरा गरिन्।
रातको समयमा सफल प्यारासुट जम्प गरेपछि उनले प्याराट्रुपर ब्याज प्राप्त गरिन्। उनी स्पेनी राजपरिवारको इतिहासमा यो योग्यता हासिल गर्ने पहिलो सदस्य बनेकी छन्।
सैन्य प्रशिक्षण पूरा गरेपछि राजा फेलिपे षष्ठमले उनलाई नयाँ सैन्य दर्जा प्रदान गर्दै ग्रान्ड क्रस अफ एरोनोटिकल मेरिटबाट सम्मानित गरेका छन्। अब लियोनोरले राजनीतिशास्त्र अध्ययनसँगै राजकीय जिम्मेवारी पनि अघि बढाउनेछिन्।
डेढ सय वर्षभन्दा बढी समयपछि स्पेनको पहिलो महारानी बन्ने अपेक्षा गरिएकी लियोनोरले नेतृत्वका लागि अनुशासन, तयारी र जिम्मेवारीको उदाहरण प्रस्तुत गरेकी छन्।