रूसी आक्रमणमा जापोरिजियामा तीन जनाको मृत्यु, २४ घाइते
काठमाडौं — युक्रेनको जापोरिजिया क्षेत्रमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
युक्रेनी समाचार एजेन्सी युक्रेनफर्मका अनुसार पछिल्लो २४ घण्टामा रूसले जापोरिजिया क्षेत्रका ५४ बस्तीलाई लक्षित गरी ९७९ वटा ड्रोन आक्रमण गरेको जनाएको छ।
यता, रूसी अधिकारीहरूले आफ्नो सेनाले बहु–प्रक्षेपण रकेट प्रणाली प्रयोग गर्दै १० वटा युक्रेनी ड्रोन कमान्ड केन्द्र नष्ट गरेको दाबी गरेका छन्। स्पुतनिक समाचार एजेन्सीका अनुसार रूसी सेनाले खार्किभ र सुमी क्षेत्रमा रातभर २०० भन्दा बढी आक्रमण पनि गरेको छ।
हालका दिनमा रूसले बन्दरगाहसहित युक्रेनका विभिन्न पूर्वाधारमा आक्रमण तीव्र बनाएको छ। दुवै पक्षबीच सैन्य गतिविधि बढ्दै गए पनि युद्ध अन्त्यका लागि राजनीतिक वा कूटनीतिक समाधानको कुनै स्पष्ट संकेत देखिएको छैन।