मध्यपूर्व द्वन्द्वमा १६ भारतीय नागरिकको मृत्यु, ७५ जना घाइते
नयाँदिल्ली — मध्यपूर्वमा जारी द्वन्द्वका कारण हालसम्म १६ भारतीय नागरिकको मृत्यु भएको भारत सरकारले जनाएको छ। तीमध्ये १० जना नाविक रहेका छन्।
भारतीय संसद्को राज्यसभामा विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंहले दिएको जानकारीअनुसार ओमानमा आठ, संयुक्त अरब इमिरेट्स (यूएई) मा चार, कुवेतमा दुई तथा साउदी अरब र इराकमा एक–एक भारतीय नागरिकको मृत्यु भएको हो।
उनका अनुसार मध्यपूर्वका विभिन्न घटनामा ७५ भारतीय नागरिक घाइते भएका छन्। घाइतेमध्ये यूएईमा ३२, ओमानमा २४, कुवेतमा १३, कतारमा चार, साउदी अरबमा एक र इजरायलमा एक जना रहेका छन्।
मन्त्री सिंहले कतारको रास लाफान ग्यास सुविधामा भएको दुर्घटनामा १२ भारतीय नागरिकको मृत्यु भएको तथा तेहरानस्थित भारतीय दूतावासले इरानबाट आर्मेनिया र अजरबैजानतर्फ दुई हजार ५५७ भारतीय नागरिकको सुरक्षित आवागमनमा सहजीकरण गरेको जानकारी दिए।
भारत सरकारले प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र भारतीय दूतावास तथा वाणिज्य दूतावासले स्थानीय अधिकारी र अस्पतालसँग समन्वय गर्दै परिवारलाई नियमित जानकारी, यात्रा व्यवस्थापन तथा सुरक्षित स्वदेश फिर्ताको सहजीकरण गरिरहेको मन्त्रालयले जनाएको छ।
सरकारका अनुसार युद्ध क्षेत्रसँग सम्बन्धित घटनामा ज्यान गुमाएका नाविकका परिवारलाई डीजीएमए कल्याण योजना (नाविक कल्याण कोष) अन्तर्गत १० लाख भारतीय रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराइनेछ। साथै, सामूहिक श्रम सम्झौताअन्तर्गत थप क्षतिपूर्ति र बीमा दाबीको प्रक्रिया पनि अघि बढाइएको छ।
कतार ग्यास सुविधा दुर्घटनाबाट प्रभावित परिवारलाई प्रधानमन्त्रीको राष्ट्रिय राहत कोषमार्फत जनही दुई लाख भारतीय रुपैयाँ प्रदान गरिएको पनि सरकारले जनाएको छ।
विदेश मन्त्रालयले क्षेत्रीय सुरक्षा अवस्थालाई ध्यानमा राख्दै २४सै घण्टा सञ्चालन हुने नियन्त्रण कक्ष, आपत्कालीन हेल्पलाइन तथा डिजिटल आपत्कालीन प्रतिक्रिया प्रणालीमार्फत उद्धार र सहायता कार्यलाई थप प्रभावकारी बनाइएको जनाएको छ।