कङ्गोमा इबोला प्रकोप तीव्र, ३६ स्वास्थ्यकर्मीको मृत्यु
किन्शासा: लोकतान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला भाइरसको प्रकोप थप गम्भीर बन्दै गएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कम्तीमा ३ जनाको मृत्यु भएको छ भने २ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै ३७ जनाको मृत्यु भएको छ। एकै दिनमा भएको यो उच्च मृत्युदरमध्ये एक भएको अधिकारीहरूले बताएका छन्।
पूर्वी कङ्गोमा गत मे १५ मा घोषणा गरिएको यो इबोला प्रकोप तीव्र गतिमा फैलिएकोमध्ये एक मानिएको छ। यसपटक देखिएको ‘बुन्डिबुग्यो’ प्रजातिको इबोला भाइरस दुर्लभ भए पनि यसको नियन्त्रणका लागि हालसम्म स्वीकृत खोप वा प्रभावकारी उपचार विधि उपलब्ध नरहेको जनाइएको छ।
सबैभन्दा प्रभावित इतुरी प्रान्तमा जारी सुरक्षा चुनौतीले रोग नियन्त्रण तथा उपचार अभियानमा कठिनाइ थपेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार प्रकोप घोषणा भएयता स्वास्थ्य केन्द्र र उपचार टोलीमाथि कम्तीमा १२ वटा आक्रमण भएका छन्।
यसैबीच, तलब नपाएको विरोधमा केही स्वास्थ्यकर्मीले काम छाडेपछि उपचार र निगरानी कार्यमा थप दबाब परेको छ। मन्त्रालयका अनुसार इबोला संक्रमणका कारण हालसम्म कम्तीमा ३६ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ।
हाल ७२४ जना संक्रमित आइसोलेसन केन्द्र तथा अस्पतालमा उपचाररत छन्। प्रभावित क्षेत्रमा संक्रमण नियन्त्रण, बिरामीको उपचार, संक्रमितको सम्पर्क पहिचान र निगरानीलाई तीव्र बनाइएको अधिकारीहरूले बताएका छन्।