इजरायली बैंकले प्यालेस्टिनी बैंकसँगको सेवा अन्त्य गर्ने तयारी
इजरायली बैंकहरूले केही साताभित्र प्यालेस्टिनी बैंकहरूसँगको बैंकिङ सेवा अन्त्य गर्ने तयारी गरेका छन्। यो निर्णय कार्यान्वयन भए वेस्ट बैंकमा आर्थिक संकट थप गहिरिन सक्ने भन्दै इजरायली र प्यालेस्टिनी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।
यी बैंकिङ सेवामार्फत बिजुली, पानी, इन्धनको भुक्तानी, इजरायलमा काम गर्ने प्यालेस्टिनी कामदारको ज्याला तथा अन्य वित्तीय कारोबार हुँदै आएका छन्। सेवा बन्द भए पाँच वटा प्यालेस्टिनी बैंक प्रत्यक्ष प्रभावित हुने जनाइएको छ।
इजरायलको अर्थ मन्त्रालयले दुई बैंकले सुरक्षा तथा वित्तीय जोखिम बढेको भन्दै सेवा सम्बन्ध अन्त्य गर्ने प्रस्ताव गरेको पुष्टि गरेको छ। मन्त्रालयले भने बैंकिङ सेवा सुरक्षित र जिम्मेवार ढंगले निरन्तर सञ्चालनका लागि सम्बन्धित पक्षसँग छलफल भइरहेको जनाएको छ।
अर्थविद्हरूले बैंकिङ सम्बन्ध विच्छेद भए नगद कारोबार बढ्ने, अनौपचारिक अर्थतन्त्र विस्तार हुने र प्यालेस्टिनी प्राधिकरण थप आर्थिक संकटमा पर्न सक्ने चेतावनी दिएका छन्।