युक्रेनका लागि ४० करोड डलरको अमेरिकी सैन्य सहायता रोकियो
युक्रेनका लागि छुट्याइएको करिब ४० करोड अमेरिकी डलर बराबरको सैन्य सहायता रोकिएको अमेरिकी सिनेटर डिक डर्बिनले बताएका छन्।
उनका अनुसार अमेरिकी कंग्रेसबाट स्वीकृत ‘युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ’ (USAI) अन्तर्गतको सहायता कम्तीमा सन् २०२९ सम्म उपलब्ध नहुने जानकारी ह्वाइट हाउसले दिएको छ।
उक्त सहायता प्रशिक्षण, सैन्य सामग्री र परामर्श सहयोगका लागि छुट्याइएको भए पनि हालसम्म युक्रेनमा नपुगेको डर्बिनले बताएका छन्। ह्वाइट हाउसले भने यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन।
राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइने भविष्यका सैन्य सहायता युरोपेली सहयोगीहरूले नै व्यहोर्नुपर्ने धारणा राख्दै आएका छन्। युक्रेनले भने हतियार आपूर्तिमा ढिलाइले युद्धमैदानमा चुनौती बढेको जनाएको छ।