क्यास्पियन सागरमा जहाज आक्रमणपछि इरान–युक्रेन तनाव चुलियो
काठमाडौं: क्यास्पियन सागरमा आफ्नो व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएको दाबी गर्दै इरानले युक्रेनलाई कडा चेतावनी दिएको छ। घटनाको विरोधस्वरूप तेहरानले युक्रेनका कूटनीतिक प्रतिनिधिलाई बोलाएर स्पष्टीकरण मागेको छ र आवश्यक परे जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।
इरानी अधिकारीका अनुसार आक्रमणमा एक नाभिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। इरानको विदेश मन्त्रालयले घटनालाई आक्रामक कार्यको संज्ञा दिँदै राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न आवश्यक कदम चालिने जनाएको छ।
यता, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्यास्पियन सागरमा इरानसँग सम्बन्धित सैन्य सामग्री ढुवानीमा प्रयोग भएका जहाजहरूलाई निशाना बनाइएको बताएका छन्। तर उनले इरानी व्यापारिक जहाजमाथि प्रत्यक्ष आक्रमण भएको पुष्टि गरेका छैनन्।
रुस–युक्रेन युद्धकै बीच इरान र युक्रेनबीच नयाँ तनाव देखिएको हो। युक्रेनले इरानले रुसलाई ‘शाहेद’ ड्रोन उपलब्ध गराउँदै आएको आरोप लगाउँदै आएको छ, जसको प्रयोग रुसले युक्रेनमाथिको आक्रमणमा गरिरहेको दाबी गरिएको छ। अर्कोतर्फ, जेलेन्स्कीले रुसले मध्यपूर्वमा हुने सैन्य गतिविधिका लागि इरानलाई उपग्रहबाट प्राप्त गुप्तचर (स्याटेलाइट इन्टेलिजेन्स) सूचना उपलब्ध गराइरहेको आरोप पनि लगाएका छन्।
घटनापछि इरान र युक्रेनबीचको कूटनीतिक तनाव थप बढ्ने संकेत देखिएको छ। हालसम्म आक्रमणबारे दुवै पक्षका दाबी स्वतन्त्र रूपमा पुष्टि भने भइसकेका छैनन्।