प्रधानमन्त्रीलाई संसद् आउन आग्रह, सभामुखलाई पूर्वजानकारी दिन आङ्देम्बेको सुझाव
प्रमुख विपक्षी नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संसदीय प्रणालीको मर्यादा कायम राख्दै नियमित रूपमा संसद्मा उपस्थित हुन आग्रह गरेका छन्। उनले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुने भएकाले संसद्को अवमूल्यन नगर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
शुक्रबार बसेको संवैधानिक परिषद् बैठकमा आङ्देम्बेले प्रधानमन्त्रीलाई संसद्मा आउनुअघि सभामुखलाई पूर्वजानकारी दिन पनि सुझाव दिएका थिए। बैठकमा उनले भने, “तपाईं संसदमा आउनुपर्छ, संसद्को अवमूल्यन गर्न हुँदैन। तर आउनुअघि सभामुखलाई चाहिँ जानकारी दिनुहोस्।”
बैठकमा प्रधानमन्त्री शाहले “जानकारी नगराई पनि जान मिल्दो रहेछ” भन्ने प्रतिक्रिया दिएको स्रोतले जनाएको छ। त्यसको जवाफमा आङ्देम्बेले प्रधानमन्त्री र सांसदको भूमिका फरक हुने उल्लेख गर्दै भने, “त्यसरी मिल्ने त सांसदलाई पो त। तपाईं त प्रधानमन्त्री हो नि। जतिखेल बोल्न मन लाग्यो त्यतिखेर कहाँ बोल्न मिल्छ?”
प्रधानमन्त्री शाह गत १७ जेठमा आकस्मिक रूपमा प्रतिनिधिसभा बैठकमा पुगेका थिए। सभामुख डोलप्रसाद अर्याललाई पूर्वजानकारी नदिई संसद् पुगेपछि उनले बोल्न समय मागेका थिए। सभामुखले समय दिएपछि उनले रोष्ट्रमबाट प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए।
उक्त क्रममा सीमा सम्बन्धी प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री शाहले “नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएका थिए, जसले राजनीतिक वृत्तमा व्यापक विवाद उत्पन्न गरेको थियो।