अमेरिका–इरान तनावपछि कूटनीतिक वार्ताको प्रयास तीव्र
अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि सैन्य आक्रमण रोकिएपछि दुवै पक्षलाई पुनः कूटनीतिक वार्तामा फर्काउन मध्यस्थकर्ताहरू सक्रिय भएका छन्।
मध्यपूर्वका अधिकारीहरूका अनुसार कतार र पाकिस्तानको पहलमा वासिङ्टन र तेहरानबीच संवादको वातावरण बनाउन प्रयास भइरहेको छ। अमेरिकी आक्रमण रोकिएपछि वार्ताको सम्भावना बढेको बताइएको छ।
तर इरानले भने वार्ताका लागि आफूले कुनै अनुरोध नगरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँग कुराकानी भइरहेको र सकारात्मक प्रगति भएको दाबी गरेका छन्।
हर्मुज जलडमरूमध्यको सुरक्षा, व्यापारिक जहाजको आवतजावत र इरानी तेलमाथिका प्रतिबन्ध मुख्य विवादका विषय बनेका छन्। दुई देशबीचको करिब दुई साताको सैन्य तनावपछि अहिले कूटनीतिक समाधान खोज्ने प्रयास भइरहेको छ।